Skip to main content
2024-07-31

काठमाडौं । नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको  छ । यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्नेछन् । मंगलबार आयोजित एक कार्यक्रमका बिच नबिल बैंकका तर्फबाट खुद्रा कारोबार बैंकिङ प्रमुख  निरज शर्मा र नमस्ते पे वालेटका तर्फबाट डेपुटी सिइओ विनय बिजुक्छेले समझदारी पत्रमा हस्ताक्षर गरे ।

यो सहकार्यबाट अब नबिल बैंकका ग्राहकहरूले एनबैंक ९लद्यबलप० एप्लिकेशनमार्फत आफ्‌नो नमस्ते पे वालेटमा सजिलैसँग पैसा लोड गर्न सक्नेछन्। नबिल बैंक नेपालमा भुक्तानी डिजिटाइजेसनको अग्रणी संस्थान हो । बैंकले नयाँ प्रविधिहरू अपनाउँदै आफ्‌ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । 

सम्झौतामा हस्ताक्षर गर्दै, नबिल बैंकका खुद्रा कारोबार बैंकिङ प्रमुख शर्माले यो साझेदारीले बैंकका ग्राहक र नमस्ते पे प्रयोगकर्ताहरूका लागि महत्त्वपूर्ण मूल्य थप्ने बताए। उनले भने, ‘नबिल बैंक राष्ट्रको डिजिटाइजेसन लक्ष्यसँग मिलेर अन्य संस्थाहरूसँग साझेदारी गर्दै उत्कृष्ट सेवा र सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध छ।

नमस्ते पे वालेटका डेपुटी सिइओ  बिजुक्छेले पनि सम्झौतामा हस्ताक्षर गर्दै भने, ‘नमस्ते पेले अत्याधुनिक सेवा प्रदान गर्ने र नेपालमा डिजिटल रूपान्तरणलाई क्रान्तिकारी बनाउने लक्ष्य राखेको छ । उनले यो साझेदारीले नमस्ते पेको सेवा दायरा बढाउन र अझ बढी प्रयोगकर्तालाई आकर्षित गर्न मद्दत गर्ने बताए।

 

यस नयाँ प्लेटफर्मको अतिरिक्त, नबिल एनबैंक एप प्रयोगकर्ताहरूले अब ई सेवा, खल्ती, र नमस्ते पे वालेटका सेवाहरू पनि उपयोग गर्न सक्नेछन् । यो सेवा सुरु भएपछि, नबिल बैंकका ग्राहकहरूले थप सहज र सुरक्षित तरिकाले डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।