
सुनसरी । नबिल बैंक लिमिटेडको सुनसरीस्थित इटहरी शाखाले अब आफ्नै भवनबाट सेवा दिने भएको छ । शुक्रबार यहाँ आयोजित एक कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजु कुमार थपलिया र बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले बैंकको नवनिर्मित भवनको संयुक्त रुपमा उद्घाटन गरे ।
यसअघि इटहरी उपमहानगरपालिका–९ मा रहेको शाखाबाट सेवा प्रवाह गरिरहेको बैंकले अब इटहरी उपमहानगर–०६ स्थित आफ्नै भवनबाट सेवा सुरु गरेको बैंकले जनाएको छ ।
पूर्वाञ्चल विश्वविधालयका उपकुलपति प्रा.डा. विजु कुमार थपलियाले नबिल बैंक इटहरी शाखाले स्थानीयलाई वित्तीय सेवामार्फत ठूलो सहयोग गरिरहेको बताए । “मुलुकको अग्रणी नबिल बैंकको इटहरी शाखाले आफ्नै भवनबाट सेवा सुरु गरेको छ, यो हाम्रा लागि पनि खुसीको कुरा हो । स्थानीय नागरिकमा वित्तीय पहुँच बढाउन र उद्यम तथा व्यवसाय विस्तारमा यस शाखाको महत्वपूर्ण योगदान रहँदै आएको छ”, उनले भने । प्रा.डा. थपलियाले आगामी दिनमा समेत इटहरी शाखामार्फत विश्वसनीय वित्तीय सेवा प्रवाह हुनेमा विश्वास व्यक्त गरे ।
नबिल बैंकको नवाँै शाखाका रुपमा २५ वर्षअघि स्थापना भएको यो शाखा अब आफ्नै भवनबाट सञ्चालन हुन लागेमा खुसी व्यक्त गर्दै बैंकका अध्यक्ष पौड्यालले व्यावसायिक कारोबारमा अग्रणी इटहरीमा थप डिजिटल सुविधासहित सेवा सञ्चालन भइरहेको बताए । उनले ग्राहकवर्गको सुविधालाई ध्यानमा राखेर डिजिटल सर्भिस जोनबाट बैंकले डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराइएको जानकारी दिए ।
उद्घाटन कार्यक्रममा बैंकका विभिन्न उच्च तहका पदाधिकारीहरु सहित स्थानीयतहका सरोकारवाला, सेवाग्राहीहरु, लगायत बैंकको कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।
