काठमाडौं । नबिल बैंक लिमिटेड र युएसएड ट्रेड एन्ड कम्पेटिटिभनेस (युएसएड टी एन्ड सी) बिच लुम्बिनी प्रदेशमा कृषि वित्तीय पहुँच वृद्धि परियोजनाका लागि सम्झौता भएको छ। यस सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र युएसएड टी एन्ड सी का प्रबन्ध निर्देशक मार्कस म्युलरले हस्ताक्षर गरेका छन् ।
यस साझेदारीले प्रमुख कृषि बजार खण्डहरूको पहिचान, जनशक्तिको सिप सुधार, उत्पादनहरूको ताजगी, र बजार रणनीति मजबुत पार्न मद्दत गर्ने बताइएको छ। यस सहकार्यले नबिल बैंकलाई एसएमई र कृषि केन्द्रित बैंकको रूपमा भूमिका बढाउन, व्यापार बढाउन, नयाँ ग्राहकहरूलाई आकर्षित गर्न, र कृषि एसएमई ऋण प्रक्रियालाई सुलभ बनाउन मद्दत पुर्याउने उल्लेख गरिएको छ।
बैंकका सिइओ ढुंगानाले कृषि उद्यमशीलतालाई प्रोत्साहन गर्न यो सम्झौता प्रभावकारी हुने बताए। ‘युएसएडसँगको हाम्रो सहकार्यले कृषि उद्यमीहरूलाई वित्तीय समावेशीकरणमा सहयोग पुर्याउने र कृषि उद्यमशीलतालाई प्रोत्साहित गर्नेछ। यसले समग्र बैंकिङ क्षेत्रको प्राथमिकतामा रहेको कृषि क्षेत्रमा लगानीमा थप टेवा पुग्नेछ,’ ढुंगानाले भने।
युएसएड टी एन्ड सी का तर्फबाट इन्भेस्टमेन्ट एण्ड बिजनेस डेभलपमेन्ट सर्भिसकी निर्देशक ऋतु मल्लले कृषि उत्पादकत्व वृद्धिमा यो अभियानले सहयोग पुर्याउने बताइन् । ‘नेपालको कृषि क्षेत्रको विकासका लागि वित्तीय पहुँच वृद्धि महत्त्वपूर्ण छ। यस परियोजनाले कृषकहरूलाई आवश्यक वित्तीय स्रोतहरूमा पहुँच पुर्याउन र कृषि उत्पादकत्व वृद्धि गर्न मद्दत गर्नेछ,’ उनले भनिन् ।
नबिल बैंक र युएसएड टी एन्ड सी बिचको यो सहकार्यले लुम्बिनी प्रदेशका कृषकहरूको जीवनस्तर सुधार्न, उनीहरूको व्यवसायको विस्तार गर्न र आर्थिक समृद्धि हासिल गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास दुवै पक्षले लिएका छन् ।
युएसएड ट्रेड एन्ड कम्पेटिटिभनेस एक बहुवर्षीय कार्यक्रम हो । यसले नेपालमा निजी क्षेत्रको सहभागिता बढाउने, साना र मझौला उद्यम (एमएसएमई) को वृद्धि तथा विस्तार र विश्वव्यापी मूल्य शृङ्खलाहरूमा नेपालको पहुँच बढाउने लक्ष्य राखेर काम गरेको छ। यस कार्यक्रमले सार्वजनिक र निजी क्षेत्रका संस्थाहरूलाई उद्यमशीलता र व्यावसायिक क्षेत्रमा नयाँ तौर(तरिका अपनाउन प्रोत्साहित गर्दै आफ्ना लक्ष्यहरू हासिल गर्न प्रयास गर्दै आएको उल्लेख गरिएको छ।
नबिल बैंकले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ। बैंकले साना र मझौला उद्यम (एसएमई) तथा कृषि क्षेत्रमा आफ्नो वित्तीय पहुँच विस्तार गर्न विभिन्न दृष्टिकोण, लक्ष्य, र अभियानहरू सञ्चालन गरेको छ। यसका लागि बैंकले वित्तीय तथा व्यावसायिक साक्षरता, ऋण सुविधा, र अन्य वित्तीय सेवाहरूको बारेमा जानकारी दिने विभिन्न अभियानहरू सञ्चालन गर्दै आइरहेको छ। यसले बैंकलाई दीर्घकालीन सफलता हासिल गर्न मद्दत पुर्याउँदै आएको नबिल बैंकले जनाएको छ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
