काठमाडौं । नबिल बैंक लिमिटेड र बोटलर्स नेपाल (तराई)बीच च्यानल फाइनान्सिङको लागि सम्झौता भएको छ । च्यानल फाइनान्सिङ सम्बन्धी सम्झौतामा नबिल बैंकका चिफ मार्केटिङ अफिसर कृष्णप्रसाद सुवेदीको उपस्थितिमा चिफ बिजनेस अफिसर (ब्रान्च च्यानल) टेकराज भट्ट र बोटलर्स नेपालका कन्ट्री फाइनान्सिङ डाइरेक्टर रेडविन एनटिनियोले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताबाट बोटलर्स नेपाल (तराई)सँग आबद्ध व्यवसायीहरूलाइ च्यानल पार्टनरको रूपमा व्यवसाय संचालन र विस्तारमा सहजीकरण हुनेछ । व्यवसायीहरुले व्यवसाय विस्तार गर्न आकर्षक ब्याजदर र न्यून धितो अनुपातमा नबिल बैंकका देशैभरि फैलिएका शाखा सञ्जालहरूबाट च्यानल फाइनान्सिङ कर्जा उपभोग गर्न पाउने छन् ।
“हाम्रो यस सम्झौताको मुख्य उद्देश्य भनेको आबद्ध व्यवसायीलाई बैंकले दिने विशिष्ट सेवाहरूको प्रयोग गराएर चालु पूँजी कर्जामा सहजता र सरलता ल्याउनु हो,“ नबिल बैंकका चिफ मार्केटिङ अफिसर कृष्णप्रसाद सुवेदीले बताए ।
नबिल बैंकका अनुसार च्यानल फाइनान्सिङका प्रमुख आकर्षण अन्तर्गत बोटलर्स नेपाल (तराई)का वितरक तथा डिलरलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुने बताइएको छ । बैंकले सम्बन्धित व्यवसायीहरूको व्यवसाय संचालन तथा विस्तारका लागि अन्य सेवा तथा एसएमई कर्जाहरू समेत सहुलियत दरमा उपलब्ध गराउने बताइएको छ ।
नबिल बैंकले यसअघि पनि विभिन्न कम्पनीहरूसँग च्यानल फाइनान्सिङ सम्झौतामार्फत वित्तीय सुविधा उपलब्ध गराउँदै आएको छ ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१७ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
