Wednesday July 24,2019

News FY 2074-75

नबिल बैंकको ३३औं वार्षिक साधारण सभा सम्पन्न

नबिल बैंकको मिति २०७४ आश्विन १० गते बैंकका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालको अध्यक्षतामा बसेको ३३ औं वार्षिक साधारण सभाले बैंकको संचालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृती अनुसार आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट नगद लाभांश १८% र बोनस शेयर ३०% दिने प्रस्ताव पारित गरेको छ । विगत तीन दशकभन्दा बढि निरन्तर सेवाबाट नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ । 

बैंकले यस आ.व. २०७३/७४ मा बैंकिङ उद्योगमै रु.३ अरब ६१ करोड उच्चतम मुनाफा गर्न सफल भएको र जेथामा प्रतिफल २६.६५ प्रतिशत र प्रति शेयर आम्दानी रु.५८.४१ का साथ आफ्नो वासलात विस्तार गर्दै रु. १ खरब ४० अरब पुर्‍याएकोछ । बैंकको संचालन मुनाफा ५ अर्ब ४६ करोड रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको यस वर्ष संचालन मुनाफा र खुद मुनाफामा क्रमश २५.८५ र २८.४५ ले वृद्घि भई यस बैंकले बैंकिङ उद्योगमै अग्रणी भूमिका कायम राख्न सफल रहेको छ । वाणिज्य बैंकहरुमध्ये आ.व. २०७२/७३ मा समेत सबैभन्दा बढी कर राजस्वमा योगदान पुर्‍याए वापत बैंकले आन्तिरिक राजस्व बिभागबाट सम्मान प्राप्त गरेको छ । बैंकका  संचालक समितीका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालको सफल नेतृत्वमा अघि बढिरहेको यस बैंकको “नेटवर्थ” १४ अर्ब ९ करोड (प्रस्तावित नगद लाभांश बाहेक) रहेको छ । 

अध्यक्ष श्री पौड्यालले बैंकको पूँजी योजना बारे प्रकाश पार्दै नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ सम्ममा ८ अर्ब पुँजी पुर्‍याउने योजना मिति २०७२/०६/२९ नेपाल राष्ट्र बैंकमा पेश गरे अनुसार समिक्षा बर्षको मुनाफाबाट प्रस्तावित वोनस शेयर पश्चात बैंकको पूँजी यसै बर्ष रु. ८ अरब ०४ करोड पुगेको व्यहोरा प्रस्तुत गर्नुभयो ।

साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष श्री पौड्यालले भन्नुभयो “ नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगीक गतिविधिहरुलाई गतिशतीलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्‍याउन सफल भएकोमा हामी गौरवान्वीत छौं ।”

उक्त समारोहमा यस बैंकले विगत केही वर्षदेखि गर्दै आएका शेयरधनी महानुभावहरुको सम्मान कार्यक्रमलाई निरन्तरता दिंदै यस बैंकका शेयरधनीहरु श्री रोज कुमार श्रेष्ठ र श्री उत्तम दत्त पाण्डेलाई बैंकको व्यसायिक संचालन तथा बैंकको सम्पूर्ण हित तथा प्रतिष्ठा वृद्घि गर्ने सम्बन्धमा निरन्तर रुपमा दिदै आउनु भएको सल्लाह तथा सुझावहरुको उच्च मुल्याङ्कन गर्दै कदर पत्र तथा दोसल्ला ओढाई सम्मान गरियो ।

नबिल बैंकको ३३औं वार्षिक साधारण सभा